ब्र्याम्टन, सेप्टेम्बर ६, २०२५ – ग्रेटर टोरोन्टो क्षेत्र (GTA), लण्डन र विन्डसरका १२ टोलीको सहभागितासहित चौथो ब्रदरहुड सुपर कप यस शनिबार ब्र्याम्टनस्थित भिक्टोरिया पार्क फुटबल स्टेडियममा हुने भएको छ।
३० वर्षमाथिका खेलाडीहरूका लागि विशेष रूपमा आयोजना गरिएको यो फुटबल महोत्सव बिहान ९:०० बजेबाट सुरु हुनेछ। प्रतियोगिता लिग कम नकआउट (League cum Knockout) प्रणालीमा सञ्चालन हुने छ भने फाइनल खेल साँझ ७:०० बजे तय गरिएको छ।
उद्घाटन समारोह बिहान १०:३० बजे हुनेछ, जसको उद्घाटन ब्र्याम्टन नर्थकी सांसद रुबि सहोता (Ruby Sahota, MP) ले गर्ने कार्यक्रम छ।
विजेता टोलीले नगद पुरस्कार ५,००० डलरसहित ट्रफी र पदक पाउनेछ भने उपविजेताले २,००० डलर नगद, ट्रफी र पदक प्राप्त गर्नेछन्।
ब्रदरहुड नेपाली स्पोर्ट्स क्लब, ब्र्याम्टनका सचिव खगेन्द्र कंडेलका अनुसार, “यो प्रतियोगिताले नेपाली समुदायबीचको भ्रातृत्व र एकतालाई अझ मजबुत पार्नुका साथै खेलकुदको स्तरलाई पनि उचाल्नेछ।”











