टोरन्टो, अप्रिल १४
नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा Nepalese Canadian Community Services (NCCS) द्वारा टोरन्टो सिटी हलस्थित न्याथन फिलिप्स स्क्वायर मा आयोजित नेपालको राष्ट्रिय झण्डोत्तोलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
१४ अप्रिल २०२५, सोमबार बिहान ११:३0 बजे सुरु भएको कार्यक्रममा टोरन्टो महानगरको आधिकारिक अनुमति सहित नेपालको त्रिकोणात्मक झण्डा नगरको सरकारी भवनमा २४ घण्टासम्मका लागि फहराइएको थियो। टोरन्टोको आकाशमा नेपालको झण्डा फहरिएको यो क्षण सम्पूर्ण नेपाली समुदायका लागि गौरवको ऐतिहासिक उपलब्धि बन्यो।
कार्यक्रममा लोकप्रिय गायक प्रमोद खरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँले उपस्थित समुदायलाई नयाँ वर्षको शुभकामना दिँदै, यस्तो ऐतिहासिक अवसरको साक्षी हुन पाउँदा आफू गौरवान्वित भएको अनुभव गर्नुभएको बताउनुभयो।
त्यसैगरी, NCCS की अध्यक्ष बिना वर्मा र NRNA क्यानडाका महासचिव चन्दा अधिकारी ले सम्बोधन गर्दै, विदेशमा रहेका नेपालीहरूको एकता, सांस्कृतिक पहिचान र राष्ट्रिय गौरवलाई उजागर गर्न यस्ता कार्यक्रमहरू अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
कार्यक्रमको सभापतित्व NCCS की अध्यक्ष बिना वर्माले गर्नुभएको थियो भने सञ्चालन महासचिव सुदर्शन सापकोटाले गर्नुभएको थियो। कार्यक्रममा टोरन्टोस्थित विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी, कलाकार तथा समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
NCCS ले यस्ता पहिचानमूलक कार्यक्रमहरूलाई भविष्यमा अझ व्यापक रूपमा निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
Photo : NCCS