काठमाडौं, नेपाल
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खादिजा अब्दुल समद अब्दुल्लासँग अमेरिकाको न्यूयोर्कमा ५८औँ संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको सम्बोधनको क्रममा भेटवार्ता गर्दै नेपालमा माल्दिभ्सका विद्यार्थीलाई स्नातकोत्तर (पीजी) शिक्षा अध्ययन गर्न ल्याउने विषयमा समिति गठन गरेर काम भइरहेको जानकारी दिएका छन्।
मन्त्री पौडेलका अनुसार नेपालमा माल्दिभ्सका चिकित्सकलाई स्नातकोत्तर शिक्षा अध्ययन गर्न पाउने वातावरण बनाउने प्रयास भइरहेको छ। माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाका अनुसार नेपाल र माल्दिभ्सबीचको सम्बन्ध राम्रो रहेको र आफ्ना विद्यार्थीहरूलाई अध्ययनका लागि पठाउन अनुकूल भएको कारणले माल्दिभ्स इच्छुक रहेको उनले बताएकी छन्।
मन्त्री पौडेलले नेपाल माल्दिभ्सका विद्यार्थीलाई पीजी मात्र नभई एमबिबिएस अध्ययन गर्न समेत सक्षम रहेको बताएका छन्। यसअघि मन्त्री पौडेलले इन्डोनेसियाको जकार्तामा असोज ७ गते इन्डोनेसियाका स्वास्थ्य मन्त्री अब्दुल्ला खालिलसँगको वार्तापछि नेपालमा त्यहाँका विद्यार्थीलाई पीजी अध्ययन गराउनका लागि संयुक्त समिति गठन गरेका थिए।
मन्त्री पौडेलले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष चोपलाल भुसाल संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेका थिए, जहाँबाट मन्त्री पौडेलले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई नेपालमा पढाउने वातावरण बनाउनका लागि समितिबाट सुझावको अपेक्षा राखेका छन्। उनले यसो गर्न सके नेपालका मेडिकल कलेजहरूको आयस्रोत मात्र नभई शिक्षाको गुणस्तरमा पनि धेरै सुधार गर्न सकिने अपेक्षा व्यक्त गरेका छन् ।
फोटो:मन्त्री प्रदीप पौडेलको फेसबुक पेजबाट।