अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूबाट अमेरिका भित्रने मदिरामा २०० प्रतिशत भन्सार कर लगाउने चेतावनी दिएका छन्। युरोपेली संघले ह्विस्कीमा लगाएको ५० प्रतिशत भन्सार कर नहटाए, ट्रम्पले उक्त कदम उठाउने बताएका हुन्।
दोस्रो कार्यकाल सुरू गरेपछि ट्रम्पले विभिन्न देशहरूबाट अमेरिका आयात हुने सामानमा कर वृद्धि गरेका छन्। यसअघि उनले अमेरिकामा भित्रिने स्टील र अल्मुनियममा २५ प्रतिशत भन्सार कर बढाएका थिए।
युरोपेली संघले यसको प्रतिकारमा १ अप्रिलदेखि लागू हुने गरी २८ अर्ब डलर बराबरका डुंगा, बर्बन ह्विस्की, र मोटरसाइकल जस्ता अमेरिकी सामानमा कर वृद्धि गर्ने घोषणा गरिसकेको छ। यसको जवाफमा ट्रम्पले युरोपेली मदिरामा २०० प्रतिशत भन्सार कर लगाउने चेतावनी दिएका हुन्।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लियनले ट्रम्प प्रशासनको कदमलाई ‘बलियो तर समानुपातिक’ प्रतिक्रिया दिने बताएकी छन्। यद्यपि, उनले युरोपेली संघ अमेरिकासँग ‘अर्थपूर्ण संवादमा संलग्न हुन तयार’ रहेको उल्लेख गरेकी छन्।
‘आयात शुल्क व्यवसाय र उपभोक्ताहरूका लागि हानिकारक छन्,’ उनले भनिन्। ‘आर्थिक अवरोधले रोजगारीलाई खतरा पुर्याउँछ र मूल्यवृद्धि गर्छ। न त युरोपेली संघलाई, न त अमेरिकालाई यसको आवश्यकता छ।’
ट्रम्पले विदेशी सामानमा आयात शुल्क बढाउँदा अमेरिकी उत्पादनलाई प्रवर्द्धन गर्ने र रोजगारी सुरक्षित राख्ने दाबी गरेका छन्। तर, आलोचकहरूले भने ट्रम्पको कदमले अमेरिकी उपभोक्ताहरूलाई मूल्यवृद्धिको मारमा पार्ने बताएका छन्।