प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको पहलमा विश्वविद्यालयका विविध समस्या र सुधारका विषयमा अनौपचारिक बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब तीन घन्टा चलेको यो बैठकमा प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा पब्लिक क्याम्पसका प्रतिनिधिहरूले क्षेत्रगत समस्या र समाधानका उपायहरू प्रस्तुत गरेका थिए।
प्रधानमन्त्री ओलीले सबै पक्षका माग र समस्या सुनेर समाधानका उपायसहित निर्णय ल्याउन विश्वविद्यालयका पदाधिकारीहरूलाई निर्देशन दिनुभयो। गत मंसिर २७ गते कीर्तिपुरमा सम्पन्न सिनेट बैठकमा उठेका विवाद समाधान गर्न विस्तृत छलफलको लागि आजको बैठक आयोजना गरिएको थियो।
सिनेट सदस्यहरूले पहिलो पटक खुलेर आफ्ना विचार राख्न पाएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद व्यक्त गरे। प्रधानमन्त्रीले सामाजिक सञ्जालमा गलत ढंगले प्रस्तुत गरिएका विषयहरूमा ध्यान नदिन र तर्कपूर्ण रूपमा समस्या समाधानमा केन्द्रित हुन आग्रह गर्नुभयो।
प्रधानमन्त्री ओलीले त्रिविको विकास, मर्यादा र गरिमा जोगाउन पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विश्वविद्यालयको शैक्षिक क्यालेन्डर पालना गर्न, मेरिटोक्रेसी लागू गर्न र योग्य व्यक्तिलाई उचित मूल्याङ्कन गर्न निर्देशन दिनुभयो। साथै, त्रिविको चल-अचल सम्पत्ति खोजबिन समिति गठन गरी थप अध्ययन गर्नुपर्ने सुझाव दिनुभयो।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, उपकुलपति प्रा. डा. केशरजङ्ग बराल, शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्ले लगायतका अधिकारीहरूको उपस्थिति रहेको थियो।