अमेरिकाले थप चार जना नेपाली नागरिकलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा बसोबास गर्दै आएका ती नेपाली नागरिकहरूलाई अमेरिकी अध्यागमन तथा भन्सार सुरक्षा विभागले पक्राउ गरी स्वदेश फर्काएको हो।
स्रोतका अनुसार, उनीहरूलाई एयर इन्डियाको नियमित उडानमार्फत गत साता काठमाडौं पठाइएको छ। निष्कासनमा परेकाहरूमा बुढा मगर, बोहोरा, बुढा पुन र वली थर भएका एक–एक जना रहेका छन्।
यी नेपाली नागरिकहरू विभिन्न समयमा अमेरिका प्रवेश गरेका थिए । अमेरिकी अध्यागमन अधिकारीहरूले तिनीहरूलाई पक्राउ गरी आवश्यक प्रक्रिया पूरा गरेपछि स्वदेश फर्काउने निर्णय गरेका हुन्।
यसअघि अमेरिकी अध्यागमनले पहिलो पटक ११ जना र दोस्रो पटक ३ जना नेपालीलाई चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएको थियो। ती दुई समूहबाहेक अन्य नेपालीहरूलाई भने विभिन्न उडानमार्फत फिर्ता गरिँदै आएको छ। यसरी फिर्ता गरिएका नेपालीहरूको संख्या क्रमिक रूपमा बढ्दो क्रममा छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासन नीतिमा कडाइ गरेसँगै गैरकानुनी रूपमा अमेरिका बसिरहेका आप्रवासीहरूलाई सख्त कारवाही गर्दै आएको छ। सोही नीतिअनुसार, नेपाल लगायत विभिन्न देशका नागरिकहरूलाई फिर्ता पठाउने कार्य तीव्र पारिएको हो।
अमेरिकामा वैध आप्रवासन कागजात बिना बसोबास गर्नु संघीय अपराध मानिन्छ। यस्तो अवस्थामा पक्राउ परेका व्यक्तिहरूलाई डिपोर्टेसनको प्रक्रियाबाट स्वदेश फिर्ता गरिन्छ।
नेपालस्थित अमेरिकी दूतावासले समेत अमेरिकी आप्रवासन नियमहरू पालना गर्न नेपाली नागरिकहरूलाई आग्रह गर्दै आएको छ। साथै, अमेरिकी अध्यागमन विभागले भविष्यमा पनि कडाइका साथ गैरकानुनी बसोबासमा संलग्न व्यक्तिहरूविरुद्ध कारबाही जारी राख्ने जनाएको छ।
Picture Credit : US Embassy Nepal