सरकारले अब वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने औपचारिक व्यवस्था स्वीकृत गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मौसमी श्रमिक पठाउने कार्यविधि पारित भइसकेको जानकारी दिनुभएको छ।
यो कार्यविधि स्वीकृतिसँगै बेलायत, क्यानडा, दक्षिण कोरिया जस्ता ठूलो संख्यामा श्रमिक माग गर्ने देशहरूमा श्रमिक पठाउने बाटो खुला भएको छ। अब श्रमिकहरू निःशुल्क रूपमा मौसमी कामका लागि विदेश जान सक्नेछन्। यसअघि सरकारले मौसमी श्रमिकका लागि छुट्टै व्यवस्था गरेको थिएन।
नयाँ कार्यविधिअनुसार, कम्तीमा दुई वर्षको करार अवधि तोकी वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत श्रमिक पठाउन सकिने व्यवस्था गरिएको छ। यद्यपि, पहिले छ महिनाका लागि मात्र माग हुने गरेको थियो, जसका कारण कतिपय श्रमिकहरू व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश जान्थे।
हाल मौसमी कामप्रति युवाहरूको आकर्षण बढ्दै गएपछि ठगीको जोखिम पनि बढेको छ। यसलाई न्युनिकरण गर्न सरकार आफैंले शून्य लागतमा श्रमिक पठाउने व्यवस्था गर्न लागेको मन्त्री कुँवरले जानकारी दिनुभयो।